अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चको जर्नलमा उल्लेख गरिए अनुसार लामो समयदेखि छाती पोल्ने समस्या भएकाहरूलाई घाँटीको क्यान्सर हुने सम्भावना हुन्छ ।
क्यान्सर इपीडीमीयोलोजी, बायोमेकर्स एन्ड प्रिभेन्सन जर्नलमा छाती पोल्ने समस्याबाट बच्न खानपिन र जीवनशैली परिवर्तन गर्नुपर्ने सुझाव पनि दिइएको छ । चिकित्सा क्षेत्रले पाइरोसिस भन्ने गरेको छाती पोल्ने समस्यामा आमाशयमा अत्यधिक अम्ल उत्पन्न भएर छातीमा असजिलो हुने, पोल्ने तथा घाँटी र बङ्गारासम्म त्यसको असर महसुस हुने गर्छ । विगतका अनुसन्धानले जीवनशैली परिवर्तन गरेमा छाती पोल्ने समस्या कम गर्न सकिने र औषधिमा मात्र भर पर्न नहुने बताएका थिए । नयाँ अनुसन्धानमा संलग्न ब्राउन विश्वविद्यालयका डा. स्कट लङगेभिनले भन्नुभएको छ, ठूलो जनसङ्ख्यामा गरेको अनुसन्धानबाट अम्ल बढेर (ग्यास्ट्रिक रिफ्लक्स) नियमित रूपमा छाती पोल्ने समस्याको सोझो सम्बन्ध घाँटीको र कण्ठनलीको क्यान्सरसँग हुने सुझाव हामीले दिएका छौँ । अमेरिकाको बोस्टन क्षेत्रमा ठूलो जनसङ्ख्यामाथि अनुसन्धान गर्दा उहाँको टोलीले ४६८ जनामा घाँटीको र १६३ जनामा कण्ठनलीको क्यान्सर फेला पारेको थियो । ती सबैलाई छाती पोल्ने समस्या रहेको अनुुसन्धान टोलीले जनाएको छ ।
ह्युम्यान पेपिलोमा भाइरसको सङ्क्रमणले समेत घाँटीको क्यान्सर हुने गर्छ । अनुसन्धानको आधारमा नियमित रूपमा छाती पोल्ने समस्या भएकाहरूलाई घाँटीको क्यान्सर हुने सम्भावना ७८ प्रतिशत बढी हुने सुझाव दिइएको छ तर छाती पोल्ने समस्या हटाउन एन्टासिड खाने व्यक्तिहरूमा चाहिँ क्यान्सरको खतरा घटेर ४१ प्रतिशत मात्र हुने जनाइएको छ ।